नेपाली टाइम

ब्रेकिङ न्युज

१३ दिनभित्र ओलीले प्रधानमन्त्रीबाट राजीनामा नदिए गलहत्याएर निकाल्छौं : पम्फा भुसाल

 राजनिति    


नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्ने चेतावनी दिएकी छन् ।
राजधानी काठमाडौंमा निकालिएको विजय सभालाई सम्बोधन गर्दै भुसालले अलिकति पनि नैतिकता बाँकी रहे तत्काल राजीनामा दिनुपर्ने बताइन् । ‘मैले त हिजै राजीनामा आउँला भनेको सोचेको थिएँ । तर, आएन । अझै पनि अलिकति नैतिकता भए राजीनामा दिएर ठाउँ खाली गरिनुपर्छ’, उनले भनिन् ।
भुसालले राष्ट्रपतिलाई समेत राजीनामा दिन आग्रह गरिन् ।
‘पशुपतिमा गएको सुनेँ । त्यहाँ क्षमा याचना गर्नुभन्दा जनतासँग क्षमा याचना गर्नुहोस्’, उनले भनिन् । जनसंघर्ष समितिका सहसंयोजक भुसालले राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको बताइन् ।
राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिनुपर्ने उनको भनाइ थियो । विजय जुलुसमा सर्वोच्च अदालत प्रति सम्मान व्यक्त गरिएको थियो ।
यसअगाडी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले ‌ओलीको राजिनामा मागिसकेका छन् । तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले बुधबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्वाचन गराउने दाबी गरेका छन् ।
कसैले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने उनले बताए । ‘राजिनामा दिने हामी कायर हो र, कुनै पनि हालतमा राजिनामा आउँदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ,’ मन्त्री श्रेष्ठले भने ।