नेपाली टाइम

ब्रेकिङ न्युज

एउटै गाउँमा १४ जना दृष्टिविहिन

 समाज   


आर्खेत बजारबाट साँढे तीन घण्टाको उकालो बाटो हिडेर स्वाँरा गाउँ पुग्ने जो कोही गाउँको चमक देखेर छिनमै थकाइ बिर्सन्छन् । गाउँ रङ्गीचङ्गी छ । सबैले स्वाँरागाउँको प्रसंसा गर्छन् । तर गाउँको रङ हेर्न क्षितिज आलेसँग आँखा छैन । भलिभाँति वयान गरिदिन उनकी पत्नी स्वीकृतिसँग पनि आँखा छैन । छोरी तीनबर्षकी छिन् । आँखा रोग विशेषज्ञले ती बालिकाको आँखाको ज्योति पनि कम छ भन्छन् । त्यसैले छितिज आले सुन्दर गाउँ पनि फिक्का लाग्छ १७ बर्षका छोरा रामकुमार र १४ बर्षकी छोरी प्रतिक्षा पनि पूर्ण दृष्टिबिहिन भएपछि सोही गाउँका केशर आलेका दम्पत्तिले पनि स्वाँरा गाउँको चमकलाई बिरङ्गी देख्छन् ।
होमबहादुर आलेको पनि एकै घरमा तीनजना पूर्णदृष्टिबिहिन छन् । दुई छोरा मनबहादुर र डिलबहादुर तथा छोरी विष्णु पूर्ण रुपमा दृष्टिबिहिन हुन् ।
अर्का स्थानीय सार्की आलेको घरमा पनि तीनजना पूर्ण दृष्टिबिहिन छन् । छोराहरु टिका राम र छवि तथा छोरी झकमाया(खुशी) पूर्ण रुपमा आँखा देख्दैनन् ।
जम्मा १२७ घरधुरी मगर समुदायको बसोबास रहेको आरुघाट गाउँपालिका वडा नं. ३ स्वाँरा गाउँमा १३ जना दृष्टिबिहिन छन् । उनीहरुमध्य १२ जना आले परिबारका हुन् । एकजना मात्रै थापा परिबारका हुन् । ‘खै हाम्रो गाउँमा किन यस्तो भयो, थाहा पाउनै सकिएन’, स्थानीय शिक्षक केशर आले भन्छन्, ‘पोहोर हाम्रो गाउँमा आँखा शिविर भएको थियो । डाक्टरहरुले वंशानुगत समस्या हो भन्नुभयो ।’ तर ४० बर्षभन्दा माथिका कोही पनि दृष्टिबिहिन छैनन् । सबैभन्दा जेठा दृष्टिबिहिन ३६ बर्षका क्षितिज आले हुन् । त्यसैले डाक्टरले भनेको पूरै विश्वास गर्न पनि गाउँलेले सकेका छैनन् ।
अन्धविश्वास
तीनै सन्तान जन्मजात दृष्टिबिहिन भएपछि होमबहादुर आलेले पछिल्लो पटक सुत्केरी गराउन श्रीमतीलाई माइत पठाए । पछिल्लो सन्तानको आँखा दृष्टियुक्त छ । तीन सन्तान जन्मजात दृष्टिबिहिन जन्मेपछि सार्की आलेले पनि सुत्केरी गराउन श्रीमतीलाई काठमाडौँ लिएर गए । नभन्दै उनको आँखा पनि सकुशलै रह्यो ।
त्यो देखेपछि मनमा पनि शंका पैदा भयो र पछिल्लो पटकको सुत्केरी गराउन श्रीमतीलाई माइतमा पठाएको स्थानीय केशर आले बताउँछन् । मामाको घरमा जन्मेकी कान्छी छोरी प्रतिमाको आँखा सकुशल रह्यो ।
अर्का शिक्षक क्षितिज आलेले पनि सुत्केरी गराउन श्रीमतीलाई पोखरा पठाए । दुवै दम्पत्ति दृष्टिबिहिन भएका उनीहरुको छोरी भने दृष्टियुक्त जन्मिइन् ।
‘अरुले सुन्दा त अन्धविश्वास जस्तो पनि लाग्ला, तर यहाँ यस्तै भयो’, आले भन्छन्, ‘हामी पनि विश्वास गर्ने कि नगर्ने ?’ सन्तान जन्मजात दृष्टिबिहिन हुन थालेपछि कतिपयले सुत्केरी हुनुअघि देवीदेवता भाकल गर्ने गरेका उनी बताउँछन् । ‘यहाँ हिन्दू र कृश्चियन सराबर जस्तै छन् । छोराछोरी जन्मजात दृष्टिबिहिन नहोउन् भनेर कोही मन्दिरमा पूजाआजा गर्छन्, कोही चर्चमा प्रार्थना गर्छन्’, उनले भने, ‘संयोगले हो कि के हो, त्यसरी जन्मेका बच्चाहरु सकुशल छन् ।’
पठनपाठनमा समस्या ः
गाउँमा दृष्टिबिहिन बालबालिका को संख्या धेरै भएपछि सरकारले स्थानीय जलकुमारी माविमा दृष्टिबिहिनका लागि अतिरिक्त सेवा सुविधासहितको दृष्टिविहिन विशेष कक्षा सञ्चालन गरेको छ । तर सेवासुविधा भने सँधै अपुग हुने गरेको विद्यार्थीहरुको गुनासो छ ।
‘बेलामा न ब्रेल आउँछ, न अरु सामग्री आउँछ’, विद्यार्थी राजी विश्वकर्मा भन्छिन्, ‘अनि हाम्रो नाउँमा सरकारबाट आएको मासिक पाँचसय रुपैयाँ पनि हेडसरले दिनु भएको छैन । कि यो यो कारणले दिन सक्दिन भन्नुभएको भए हामी त्यही अनुसार चित्त बुझाउँथ्यौँ । दिन्छु मात्र भन्नुहुन्छ । तर दिनुभएको छैन ।’
छात्रबासको वातावरण पनि दृष्टिबिहिनमैत्री नभएको विद्यार्थीहरुको गुनासो छ । ‘हाम्रो होस्टेलको आँगनमा सँधै गाउँका मान्छेहरु आउनु हुन्छ । तास खेल्नुहुन्छ । रक्सी खानुहुन्छ । हामीलाई एकदम ठिक लाग्दैन’, एक दृष्टिबिहिन विद्यार्थीले भने, ‘यहाँ नआउनू भन्न पनि हामीलाई गाह्रो लाग्छ । व्यवस्थापन समिति, हेडसरहरुले यो वातावरण मिलाइदिनु पर्ने थियो ।’
विद्यार्थीको गुनासो जायज रहेको प्रधानाध्यापक टेकबहादुर दाहाले स्वीकार गरेका छन् । ‘पाँचसय रुपैयाँ पकेटखर्च दिने भन्ने सरकारको उद्देश्य रहेछ ।
त्यो रकम नदिने हाम्रो मनस्थिति चाहिँ होइन’, उनले भने, ‘विद्यालयको व्ययभार टार्नका लागि त्यतातिर खर्च भइरहेको छ । ठिक छ, अब यो बर्षबाट दिउँ भन्ने सहमति भएको छ ।’ छात्रवासको वातावरण पनि विद्यार्थीको गुनासोअनुसार कै रहेको उनले स्वीकार गरे