नेपाली टाइम

ब्रेकिङ न्युज

गण्डकीमा खेलकुदका नौ वटा पूर्वाधार बन्दै, गोरखाकाे रंगशाला मर्मत गर्न १० लाख

 खेल समाचार       


 गोरखा । गोरखा सहित गण्डकी प्रदेशका बिभिन्न जिल्लामा करिब दुई करोड लगानीमा खेलकुदका नौ पूर्वाधार बन्ने भएका छन् ।

गण्डकीका बिभिन्न जिल्लामा खेलकुदका पूर्वाधार निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्थानीय उपभोक्ता समितिसँग १ करोड ९५ लाख रुपैयाँ बराबरको सम्झौता गरेको हाे।

गण्डकी प्रदेश स्तरीय खेलकुद अभिमुखीकरण कार्यक्रमका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल पोखरा पुगेका बेला उपभोक्ता समितिसँग आइतबार सम्झौता भएको हो।

सम्झौता अनुसार गोरखा सदरमुकाममा रहेकाे रंगशाला स्तरउन्नतीका लागि १० लाख रुपैयाँ बिनियाेजन गरिएकाे छ । त्यस्तै पोखराको जेष्ठ नागरिक बहुद्देश्यीय कभर्डहल निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने छ। ५५ लाख ६३ हजार ८६ रुपयाँ ९० पैसा लाग्ने लागत इष्टिमेट रहेकोमा बाँकी रकम समितिले ब्यहोर्नेछ।

त्यस्तै लमजुङको राईनस नगरपालिका ६ स्थित गौलीटार रंगशाला निर्माणका लागि पनि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ। ५५ लाख ९२ हजार १ सय ६१ रुपयाँ पैसा ५१ लाग्ने लागत इष्टिमेट रहेकोमा बाँकी रकम समितिले ब्यहोनुपर्ने सम्झौतामा उल्लेख छ।

त्यसैगरि लमजुङ कभर्डहल निर्माणका लागि १० लाख, म्याग्दीको बेनी रंगशाला निर्माणका लागि १० लाख, पर्वतको कुश्मा कभर्डहल निर्माणका लागि १० लाख, तनहुँको चिन्टुटार रंगशाला निर्माणका लागि १० लाख, म्याग्दीको बेनी नगरपालिकास्थित रत्नेचौर बहुद्देश्य खेलमैदानका लागि १० लाख, बाग्लुङमा मदन भण्डारी कभर्डहल निर्माणका लागि १० लाख राखेपले उपलब्ध गराउने छ।

सम्झौता अनुसार उपभोक्ता समितिले तोकिएको काम २०७८ वैशाख मसान्तभित्र सम्पन्न गरि सक्नु पर्नेछ।